श्याम बुचा



सुस्ता १३ बैशाख
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा यही बैशाख ८ गते भएको आगलागीबाट पीडित १२ घर परिवारलाई प्रेरणा परियोजनाले राहत सामाग्री वितरण गरेको छ ।
फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट,नवलपरासीको साझेदारीमा संचालित प्रेरणा परियोजनाले जिल्लाको प्रतापपुर गाउँपालिका वडा न.५ भैरवपुरमा आगलागी पीडित १२ घरपरिवारलाई राहत स्वरुप घरायसी प्रयोग हुने ग्यास सिलिन्डर तथा दैनिक उपभोग हुने भाडाकुडाहरु परिवारिक संख्या अनुसार सामग्री वितरण गरेको हो ।
आगलागीका कारण घर तथा दैनिक उपयोगका सामग्री गुमाएका परिवारलाई तत्काल सहयोग स्वरूप राहत उपलब्ध गराइएको इन्द्रेणी सामाजिक बिकास मञ्चका कार्यबाहक अध्यक्ष धनमती सापकोटाले बताइन ।
प्रेरणा परियोजनाको पहलमा पीडित परिवारहरूलाई ग्यास सिलिन्डर, भाँडाकुँडा लगायत अत्यावश्यक सामग्री वितरण गरिएको छ भने विपद्को घडीमा पीडितहरूको दैनिक जीवन सहज बनाउन यस प्रकारको सहयोग गरिएको परियोजनाका जिल्ला संयोजक गृजेश कुमार शर्माले बताएका छन् । 
राहत वितरण कार्यक्रममा प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादव, प्रतापपुर गाउँपालिका वडा न ५ का वडा अध्यक्ष रमेश कुमार बनिया र समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।
राहत वितरण कार्यक्रममा बोल्दै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले विपद् प्रभावित परिवारलाई प्रेरणा परियोजनाले गरेको राहत स्वरुप सहयोग प्रति पालिकाले धन्यवाद व्यक्त गर्दै प्रेरणा परियोजनाले विपद व्यवस्थापन तथा न्यूनीकरण प्रती पनि उत्तिकै जिम्मेवार रहेको हुदा पालिकाको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् भने आगलागीबाट पीडित परिवारको पुनःस्थापनाका लागि अझै थप सहयोग आवश्यक रहेको उल्लेख गरेका छन् ।
आगलागीको घटनाबाट १२ घर पुर्ण रूपमा आगोबाट जलेर नष्ट भएको र ठूलो क्षति पुगेको स्थानीयवासीहरूले बताएका छन् भने प्रभावित परिवारहरू अहिले अस्थायी बसोबासमा रहेका छन् ।
उनीहरूको पुनःस्थापनाका लागि पालिकाले तत्काल व्यवस्थापनको काम थालनी गर्ने पालिकाले जनाएको छ ।

